नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा २०८१ को कार्ययोजना लागू गर्ने सन्दर्भमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
एमालेले यस वर्ष संगठन र सदस्यता विस्तार गर्ने, पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने गरी कार्ययोजना तयार पार्ने यसअघि नै निर्णय गरेको थियो।
त्यहीअनुरूप एमालेले जिल्ला, निर्वाचन क्षेत्र (संघीय र प्रदेश) र पालिका इन्चार्जहरू परिवर्तन गरेको थियो। यसअघि बसेको सचिवालय बैठकले अधिकांशलाई आफ्नै जिल्ला र भूगोल कार्यक्षेत्र हुने गरी इन्चार्ज तोकेको थियो।
पोलिट्ब्युरो र सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला, केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र (संघीय र प्रदेश), केही केन्द्रीय र प्रदेश कमिटीका सदस्यहरूलाई पालिका तहका कमिटीका इन्चार्जको जिम्मेवारी तोकेको छ। त्यस्तै जिल्ला कमिटी सदस्यलाई वडा कमिटी र पालिका तहका कमिटीका सदस्यहरूलाई टोलटोलमा खटाउने गरी विस्तृत कार्ययोजना तयार पारेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
‘त्यसबारे सचिवालयले विस्तृत कार्ययोजना प्रस्ताव तयार पारेको छ। त्यसमाथि आज बस्ने सचिवालयमा छलफल हुनेछ। आवश्यकताअनुसार स्थायी कमिटीमा छलफल गराउन पनि सकिनेछ। यसबारे सचिवालय बैठकले नै निर्णय गर्नेछ,’ गौतमले भने।
यस्तै आज बस्ने बैठकमा सरकारको एक महिने कामका बारे पनि समीक्षा हुने गौतमले बताए।
‘पछिल्लो समय अराजकता बढेको छ। शान्ति—सुरक्षा लगायतका विषयमा हामी छलफल गर्नेछौं। मूलतः संगठन विस्तार र परिचालनमै यो बैठक केन्द्रित रहनेछ,’ गौतमले भने।