माओवादी केन्द्रकी सांसद एवम् स्थायी कमिटी सदस्य रेखा शर्माले आफ्नो पार्टीले नेतृत्व लिएका कुनैपनि तहका सरकारमा नमुना काम भएको दाबी गरेकी छन्।
दाङको घोराही उपमहानगरपालिका जबरपुरमा बुधबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले वडादेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेका सरकारहरुले नमुना काम गर्दै आएको दाबी गरेकी हुन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि लोडसेडिङमुक्त नेपाल बनाएको उनले बताइन्।
अध्यक्ष प्रचण्डकै पछिल्लो कार्यकालमा गम्भीर भ्रष्टाचारका फाइलहरु खोलेर सुशासनको नयाँ अभियान सुरु गरिएको उनले बताइन्।
‘माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्चार मन्त्रालय हुन्, यी मन्त्रालयले नै अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेका छन,’ शर्माले भनिन्, ‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर १० वर्षमा दस हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पुर्याउने माओवादी नै हो।’
त्यस्तै घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याएको पनि माओवादी नै भएको उनले बताएकी थिइन्।
माओवादीको पहिलो सरकारले मध्यपहाडी लोकमार्गजस्तो राष्ट्रिय महत्वको आयोजना अघि बढाएको पनि शर्माले स्मरण गराइन्।
माओवादीले धेरै काम गरे पनि जनतासँगको सम्बन्ध र व्यवहारलाई ध्यान दिन नसक्दा कमजोर भएको भएको उनले बताइन्।
नेता शर्माले अब जनतासँगै एकाकार भएर आगामी निर्वाचन एक्लै लड्ने तयारीका साथ अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।
दाङ निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्यसमेत रहेकी शर्माले सबै टोलटोलमा एकैचोटी विकास पुर्याउन नसके पनि क्रमशः विकास योजनाहरु योजनाबद्ध रुपमा अघि बढाउँदै लगेको बताएकी थिइन्।
उनले सकेजति राम्रो गरिरहेको तर नराम्रो नगरेको र कहिल्यै नगर्ने बताएकी थिइन।
‘मैले निर्वाचन जितेको पाँच वर्ष पुगेपछि निर्वाचन क्षेत्रमा के कति काम गरियो, के कति गर्न सकिएन र के कारणले गर्न सकिएन भनेर स्वेतपत्र जारी गर्नेछु,’ उनले भनिन्, ‘हामी जो जहाँ छौं, इमान्दारितापूर्वक लागौं, गर्न सकेका कामको स्वामित्व लिऔं, नसकेका कामका लागि निरन्तर पहल गरौं, हामी अवश्यक सफल हुनेछौं।’