राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा होहल्ला गर्ने युवालाई पक्राउ गर्न थालिएको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद ढकालले पक्राउ परेका युवालाई रिहा गर्न माग गरेका हुन्।
‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरूले विरोध भाषण गरे। यसलाई अराजक शैली अनेक बहाना लगाएर सरकारले त्यो भिडियो फुटेजहरु स्क्रिनिङ गरिगरी हिजोबाट ती युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ। यो विल्कुल गलत भएको छ,’ उनले भने।
युवाका विरोधका बोली राज्यले सुन्ने धैर्य राख्नुपर्ने उनले बताए।
‘स्वदेशमा अवसरबाट वञ्चित, रोजगारीबाट वञ्चित बनाइएका ती युवाले सिंहदरबार भित्रका बेइमानहरूलाई खबरदारी गर्दै गर्दा यसरी समाउन पाइदैन,’ उनले भने, ‘ती युवाहरूको तत्काल रिहाको माग गर्छु। साथै विभिन्न जिल्लामा स्ट्याटस लेखेकै भरमा युवालाई समातिएको समाचार आएको छ। कमिलाको उड्ने बेलामा प्वाख पलाउँछ। कमिलाको उड्ने बेलामा पलाएको प्वाँख जस्तो नहोस्। हामी पनि यस विषयमा संवेदनशील छौं।तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ।’
*यसअघि शीर्षक अन्यथा पर्न गएकोमा सच्याइएको छ- सम्पादक