नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
मंगलबार शीतल निवासमा विदेशमन्त्री अलबुसैदी र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेटवार्ता भएको हो।
उनीहरूबीच नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
उक्त अवसरमा राष्ट्रपतिले नेपाल र ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आइरहेको बताएका थिए।
भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने राष्ट्रपतिको विश्वास छ।