प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताए।
‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्ने छैन, तपाईहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउने छैन। माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन। म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरू भए। जनतासँग संवादका कमजोरी भए। व्यवहारका कमजोरी भए। वर्गीय पक्षधरताका कमजोरी भए। त्यही कमजोरीमा खेलेर अब तपाइँहरू सीमान्तहरूका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो। माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो। समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो,’ दाहालले भने।
माओवादीको ध्यान अब सत्तामा नरहेको पनि उनले बताए।
‘आन्दोलनको पुनर्गठनमा छ। त्यही पुनर्गठनका बलमा हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं। पहिला पनि बनाएका हौं, अब पनि बनाउनेछौं। त्यतिबेलासम्म कृपया तपाइँहरू मिलिदिनुहोला। फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुक्र्याउन नआइदिनुहोला,’ उनले भने।