राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्।
अष्ट्रेलिया र थाइल्याण्डमा भएका कार्यक्रममा सहभागी भएर लिङ्देन गए राति स्वदेश फर्किएका हुन्।
अध्यक्ष लिङ्देन ९ दिन अष्ट्रेलिया र २ दिन थाइल्याण्डको कार्यक्रममा सहभागी भएका थिए।
पार्टीको प्रवासी एकता समाज अष्ट्रेलियाको निमन्त्रणामा अष्ट्रेलियाका विभिन्न सहरमा भएको कार्यक्रममा सहभागी हुन साउन ३१ गते लिङ्देन त्यसतर्फ गएका थिए।
अष्ट्रेलियामा रहँदा एनआरएनए अष्ट्रेलिया, झापाली समाज, अवैतनिक महावाणिज्यदूतको कार्यालय एवं मेलवर्न, एडिलेड र सिड्नीका नेपाली समुदायले गरेका कार्यक्रममा अध्यक्ष लिङ्देन सहभागी भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
अध्यक्ष लिङ्देनले बैङ्ककमा आयोजित प्रवासी नेपाली एकता समाज थाइल्याण्डको भेलालाई सम्बोधन गरेका थिए।
भ्रमण पूरा गरी स्वदेश फर्केका अध्यक्ष लिङ्देनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङ लगायतका नेताहरूले स्वागत गरेका थिए।
अध्यक्ष लिङ्देन नेतृत्वको भ्रमण टोलीमा प्रवक्ता एवं कोशी प्रदेशका सांसद भक्तिप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की सहभागी थिए।