राप्रपा नेपालका अध्यक्ष कमल थापाको किताब ‘कूटनीति र भूराजनीति’ विमोचन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष थापाले संयुक्त रूपमा सोमबार आयोजित कार्यक्रममा किताब विमोचन गरेका हुन्।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राख्न सक्ने नेताका रुपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको बताएका थिए।
प्रधानमन्त्री ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताए।
‘नेपालले सन्तुलित, इमानदारिता र पक्षधरताबिहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ। हामी एउटा छिमेकीविरुद्ध अर्काे छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ। कसैको कुुभलो चिताउँदैनौँ। हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’ को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरेका छन्।
नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने उनले बताए।