जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीका अध्यक्षसहित चार जनालाई ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको छ।
जग्गाको विषयलाई लिएर बर्दघाट नगरपालिका वडा नं. १४ का राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीमाथि निर्घात कुटपिट गरेको भन्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामुसहित चार जनाविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीका अनुसार रितमानसहित प्रेम कामु, कृष्ण कामु र जीवन कामुले क्षेत्री दम्पतीमाथि वडा कार्यालयभित्रै निर्घात कुटपिट गरेको भन्दै उजुरी परेको हो।
पक्राउ पुर्जी जारी गरिएका चारै जना सहोदर दाजुभाइ हुन्। पीडितहरूको उजुरीपछि उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।
शुक्रबार भएको कुटपिटको घटनालाई लिएर गएका पीडितको जाहेरी सो दिन प्रहरीले दर्ता गर्न नमानेपछि आइतबार दिनभरजसो स्थानीयले इलाका प्रहरी कार्यालय बर्दघाटमा नाराबाजी गरेका थिए। पक्राउ पुर्जी जारी गरिएका चारै जना नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता भएकोले राजनीतिक दबाबका कारण प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि स्थानीय आक्रोशित भएका थिए।
नेपाली कांग्रेसका दुई गुटमध्ये एक गुटले जाहेरी दर्ता गराउन र अर्कोले नगराउन दबाब दिएपछि अन्योलमा परेको प्रहरीले कार्यालयभित्रै स्थिति तनावपूर्ण हुने देखेपछि आइतबार अबेर मात्र ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेको थियो।
जाहेरी दर्ता गरी अदालतबाट चारै जनाविरूद्ध पक्राउ पुर्जी जारी भए पनि उनीहरू फरार रहेका छन्। ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले फरार रहेकाहरूका खोजी भइरहेको बताएका छन्।
कामु परिवारले आफ्नो जग्गाबाट बाटो निकालेको र उक्त बाटोमा क्षेत्रीको पनि जग्गा रहेकाले बाटो निकास सम्बन्धी छलफलका लागि वडा कार्यालयले गत शुक्रबार दुवै पक्षलाई बोलाएको थियो।
सोही विषयमा छलफल हुँदै जाँदा कामु दाजुभाइले क्षेत्री दम्पतीमाथि कुटपिट गरेको वडा अध्यक्ष सन्तु गाहाले बताए।
घटनापछि वडा कार्यालयले विज्ञप्ति जारी गरेर घटनाको न्यायिक निरूपण हुनुपर्ने माग गरेको छ। कुटपिटपछि गम्भीर घाइते राजबहादुरको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।