नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारी) ले भ्रष्टाचारमा हदम्यादको कुरा आफूहरूलाई मान्य नहुने चेतावनी दिएको छ।
नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनले भ्रष्टाचारीलाई जोगाउने र संरक्षण गर्ने उद्देश्यले हदम्यादको विषय उठाएको आरोप अखिल (क्रान्तिकारी) ले लगाएको छ।
अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आज एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले ल्याउन लागेको हदम्यादको विषय आफूहरूलाई मान्य नहुने बताएकी छन्।
भ्रष्टाचारी जो सुकै भए पनि चाँडो वा ढिलो कानुनी कठघरामा उभिनै पर्छ र उनीहरू छानबिनको दायरामा आउनैपर्छ भन्ने स्पष्ट मान्यता अखिल (क्रान्तिकारी) को रहेको उनले जनाएकी छन्।
भ्रष्टाचारीलाई मृत्युपछि पनि मुद्दा चलाउन सकिने भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ को प्रावधान संशोधन गरेर हदम्याद राख्न सरकारले अघि बढाएको विधेयक र तयारीले यो कुरा स्पष्ट संकेत गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ।
भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका निकटस्थहरूलाई कानूनी रूपमै उन्मुक्ति दिने उद्देश्यले आएको प्रस्ताव र तयारीप्रति अखिल (क्रान्तिकारी) ले खेद प्रकट गरेको छ।
‘भ्रष्टाचार नेपाली समाजमा महारोग बनिरहेको सन्दर्भमा भ्रष्टाचार सम्बन्धी राष्ट्रसंघीय महासन्धि २००३ मा भ्रष्टाचारको मुद्दा चलाउने मामिलामा सकेसम्म हदम्याद राख्न नहुने र राख्नै परे लामो अवधिको राख्नुपर्ने प्रावधानलाई ध्यान दिन, बहुमतको आधारमा कानुनमाथि खेलवाड गर्ने कार्यमा तुरून्त रोक लगाउन र सुशासनका निम्ति जिम्मेवार बन्न हामी सरकारसँग जोडदार माग गर्दछौं,’ सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
संसदीय मूल्य मान्यता मिच्दै बनेको संसदका दुई ठूला दल कांग्रेस र एमालेको सत्ता गठबन्धनले ‘अघिल्लो सरकारले भ्रष्टाचारविरूद्ध चालेको कदमको श्रृंखलामा ब्रेक लागाउँदै भ्रष्टचारीहरूको संरक्षणमा उत्रिएको’ आभास जनतालाई भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको अखिल (क्रान्तिकारी) ले जनाएको छ।