नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आइतबार करिब तीन घन्टा आफूनिकट नेताहरूसँग कुराकानी गरेका छन्।
बालुवाटारस्थित बिशालनगरमा रहेको कोइरालाको सम्पर्क कार्यालयमा १४ औं महाधिवेशनमा आफ्नो समूहबाट पदाधिकारी र केन्द्रीय सदस्य जितेका तथा केही सांसदहरूसँग छलफल गरेका हुन्।
उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, किरण यादव, अजयबाबु शिवाकोटी, गोविन्द पोखरेल, दिनेश कोइराला, मुक्ताकुमारी यादव, प्रकाश स्नेही, गणेश लामालगायतसँग कोइरालाले कुराकानी गरेका हुन्।
आइतबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म उक्त छलफल चलेको थियो। पदाधिकारी, केन्द्रीय सदस्यहरू र सांसदहरूले समसामयिक राजनीति, जारी केन्द्रीय समिति बैठकका एजेन्डा, पार्टीको आन्तरिक विषयहरूमा केन्द्रित रहेर धारणा तथा गुनासा राखेका थिए।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार यो छलफल उपसभापति गुरूङको पहलमा कोइरालाले राखेका हुन्। कोइरालाले करिब २२ महिनामा यसरी आफ्नो समूहका नेताहरूसँग छलफल गरेका हुन्।
छलफलमा महामन्त्री गगन थापा, केन्द्रीय सदस्य अर्जननरसिंह केसीलगायत उपस्थित भएका थिएनन्। उनीहरू संसदीय समितिमा व्यस्त रहेकोले उपस्थित नभएको ती केन्द्रीय सदस्यले जानकारी दिए।
छलफलमा कोइरालालाई लक्षित गर्दै केही केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवाले विधि विधानअनुसार पार्टी सञ्चालन नगर्दा कडा रूपमा ध्यानाकर्षण गराउन नसकेकोजस्ता विषयमा असन्तुष्टि जनाएका छन्।
टिकट वितरण, केन्द्रीय सदस्यहरू मनोनयन, विभाग गठन, भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा नेतृत्व चयनलगायतका विषयमा कोइरालाले सभापति देउवासँग आफ्नो प्रष्ट अडान राख्नबाट चुकेकोले अब त्यसो गर्न नहुनेमा उनीहरूले ध्यानाकर्षण गराएका थिए।
सबैका गुनासा सुनेपछि कोइरालाले जबाफ दिए। उनले आफू सभापति देउवासँग मिलेको भन्ने भाष्य बनाउन खोजिएको भन्दै त्यसतर्फ असन्तुष्टि जनाए।
‘शेखर त देउवासँग मिल्यो, मिल्दैछ भनेर भाष्य बनाउन खोजिँदैछ, यो गलत हो तत्काल यस्ता भाष्य बन्द गर्नुस्,’ उनले भेलामा भनेका कुरा उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने।
कोइरालाले केही कमजोरीहरू भएका छन् भने सुधार गरेर जान सकिने र समूह एकताबद्ध रहनुपर्नेमा जोड दिएका थिए। १५ औं महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिएका कोइरालाले आफू पुन: सभापति उठ्ने संकेत पनि आफ्नो समूहलाई दिएका छन्।
उपसभापति धनराज गुरूङले पनि आफ्नो समूहलाई एकताबद्ध बनाएर लैजान कोइरालालाई आग्रह गरेका थिए। ‘राम्रो गरे तपाईंलाई नै जस जाने हो, नराम्रो गरे तपाईंलाई नै अपसज आउँछ, टिम एकताबद्ध बनाउँदै अघि बढ्नुहोस्,’ उपसभापति गुरूङले कोइरालालाई भनेका थिए।