सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेसँगै सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूले पनि रिट दिएका छन्।
आइतबार सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक अभिकुमार खत्रीसहित १२ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने मागसहित रिट दायर गरेका हुन्।
उनीहरूको वारेसको रूपमा अनिता अधिकारीले रिट दिएकी हुन्।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार यस रिटको पेशी मंगलबारका लागि तोकिएको छ।
डिआइजी खत्री, डिआइजी दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन विष्ट, अम्मरबहादुर ऐर, हर्क शाही, अशोक शाक्य, उद्धव रावल, प्रेम रावल, दिपेन्द्र गिरी र धनबहादुर सिंह भदौ १६ गतेदेखि अवकाशमा जाँदैछन्।
सोही ब्याचका महेन्द्रराज भारती र भीम चौधरी पनि अवकाशमा जानेछन्। डिएसपी रहेका उनीहरूको अवकाशमा जाने भएकाले बढुवा भइसकेका छन्।
गत बुधबार नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतले पनि ३० वर्षे सेवा अवधि हटाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाई गर्दै बिहीबार न्यायाधीश हरिप्रसाद फुयालले ३० वर्षे सेवा अवधिबाट अवकाश नदिन अन्तरिम आदेश दिएको थियो।