नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सधैंभरि सानो पार्टी भन्दै त्यसकै गीत गाएर नहिँड्न र हिनताबोध नपाल्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टी निर्माण गर्न सकिने बताउँदै सधैंभरि उही गीत नगाउन आग्रह गरे।
‘सधैंभरी एउटै गीत गाएर.. सानोपार्टी, सानो पार्टी..। म त शब्द पनि सुन्न चाहन्नँ। के सानो पार्टी? हाम्रो पार्टी नेपाल मजदुर किसान पार्टीभन्दा सानो छ? मोहनविक्रम सिंहको पार्टीभन्दा सानो छ? मोहन वैद्यको भन्दा सानो छ? नेत्रविक्रम चन्द विप्लवजीहरूको भन्दा सानो छ?,’ उनले भने।
एमालेमा भएको हुनाले त्यत्रो पार्टी भएन भन्ने हिनताबोध भएको हुन सक्ने उनले बताए।
‘पुष्पलालले त्यो गीत गाएर बस्नु भएको भए के हुन्थ्यो हालत? हामीले केअर्डिनेसन केन्द्र बनाउँदा त्यही गीत गाएको भए के हुन्थ्यो हालत?,’ उनले भने, ‘लेनिनले पनि जब पार्टी निर्माण गर्न खोज्नुभयो, पहिलो बैठक असफल नै भयो। हामीले कोअर्डिनेसन केन्द्र बनाउन खोज्यौं असफल नै भयो। २०३१ सालको असोज महिनामा बोलाइयो, जम्मा हामी तीन जना। म झलनाथ खनाल र सिपी मैनाली मात्रै हुनुहुन्थ्यो। फेरि हामीले आठ महिना सारियो। आठ महिना सार्दा ८ जना ल्याउने भनियो। ६ जना भइयो।’