एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार रहेको बताएका छन्।
आइतबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले माओवादी केन्द्रका तर्फबाट एकताको प्रस्ताव नआएको जिकिर गरेका हुन्।
‘अहिले हामी जाने (एकतामा) कुनै सम्भावना छैन। जाने स्थिति नै छैन। सरकारको कुरा छाड्नुस्। सरकारको कुरा लिएर जाने होइन। यसको आधारमा हामी कुनै एकता गर्छौं भने कसैले भ्रम नपाले हुन्छ। कसैले प्रस्ताव राखेका पनि छैनन्। कसैले भनेका पनि छैनन्। हामी त्यत्तिकै गीत गाएर हिँडिराखेका छौं। यो दोषारोपण गर्नका लागि हो। यस्ता कुरालाई म चुनौती दिन चाहन्छु। मैले भन्ने गरेको छु– न बिराउनू नडराउनू!,’ उनले भने।
उनले पदको निम्ति एकतामा जान खोजेका हुन् भनेर टिप्पणी भइरहेको बताए।
‘पदका निम्ति! हामी पदका निम्ति मरिहत्ते गर्ने मान्छे हौं?,’ उनले भने।
नेपालको राजनीतिलाई सही दिशामा लैजान एकीकृत समाजवादीको भूमिका हुने उनले बताए। त्यस्तै भ्रष्टाचारबाट मुक्त गर्नका लागि, विकास निर्माणका कामलाई सही दिशामा लैजानका लागि पनि पार्टीको भूमिका अपेक्षित हुने उनले बताए।
‘ठीक ढंगले योजना तर्जुमा गर्नका लागि, कुन योजना अहिलेको निम्ति अहिलेको लागि वस्तुवादी छ कि छैन भनेर सोचेर अगाडि बढ्नका लागि, त्यतिमात्र होइन, नेपाली जनताको जीवन आमूल परिवर्तनका लागि, नेपाल समाजमा रहेका विद्यमान विभेद, विकृति, विसंगति अन्त्य गर्नका लागि, उहाँहरूलाई रोजगारी दिनका लागि, शिक्षा, स्वाथ्यदेखि लिएर अर्थतन्त्र चलायमान बनाउन लागि, विदेशमा जाने जुन पंक्ति छ, त्यसलाई रोक्नका लागि हामी जाने हो,’ उनले भने।
उनले विभिन्न पार्टीहरूले एकताबद्ध होऊँ भनिरहेको बताए।
‘त्यसो भन्ने पार्टीलाई हामी भनिरहेका छौं, एकताबद्ध हुनुभन्दा पहिले विचारहरू मिल्नुपर्यो। पार्टीहरूबीचको सम्बन्ध राम्रो हुनुपर्यो,’ उनले भने।