मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।
मंगलबार मुख्यमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार निवासमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन्।
उनले पहिलो बुँदामा जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गणको सौन्दर्यकरण गरिदिन माग गरेका छन्।
यस्तै, हुलाकी राजमार्ग अन्तर्गत कमला पुललगायत अन्य पुल निर्माण कार्य पूरा गरी हुलाकी राजमार्गको कार्य पूरा हुनुपर्ने माग राखेका छन्।
निर्माणाधीन पूर्व-पश्चिम रेलमार्ग प्रदेशका प्रमुख सहरसँग सम्पर्कको व्यवस्था हुनुपर्ने र जनकपुर जयनगर रेल्वे यातायातमा मालबाहक सेवाको लागि मालबाहक रेलको व्यवस्था हुनुपर्ने उनको माग छ।
यस्तै, जनकपुरधामस्थित १२ बिघालाई सुव्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने उनले माग गरेका छन्। त्यसैगरी जिटुजीमार्फत सिमेन्ट कम्पनीले भारतको मार्केटमा पहुँच पुऱ्याउन संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने उनले माग राखेका छन्।
यी हुन् मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रमा बुझाएको मागः
१) जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गणको सौन्दर्यकरण गर्नु पर्ने
२) हुलाकी राजमार्ग अन्तर्गत कमला पुल लगायत अन्य पुल निर्माण कार्य पूरा गरी हुलाकी राजमार्गको कार्य सिघ्र पूरा हुनुपर्ने
३) निर्माणाधीन पूर्व-पश्चिम रेलमार्ग प्रदेशका प्रमुख शहरसँग सम्पर्कको व्यवस्था हुनुपर्ने
४) जनकपुर जयनगर रेल्वे यातायातमा मालवाहक सेवाको लागि मालवाहक रेलको व्यवस्था हुनुपर्ने
५) जनकपुरधामस्थित १२ बिघा (रड्ङ्गभूमि) लाई सुव्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने
६) मधेस प्रदेशका आठवटा जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोरको निर्माण हुनुपर्ने
७) कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोत साधनमा सहयोग
८) भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत र साधन प्रबन्ध मिलाउन
९) कृषि अनुदान कृषकको खातामा सिधै जानुपर्ने व्यवस्था मिलाउनुपर्ने
१०) प्रदेश स्तरमा ट्रेड एण्ड एक्सपोर्ट सेन्टर सञ्चालन गर्नुपर्ने
११) बारा तथा पर्सामा औद्योगिक करिडोर कार्यान्वयनमा ल्याउनुपर्ने
१२) हरेक जिल्लामा अद्यौगिक क्षेत्र निर्माण गर्नुपर्ने
१३) मधेस प्रदेशमा आइटी पार्क निर्माण गर्नुपर्ने
१४) वीरगञ्ज ड्राइ पोर्ट पूर्ण क्षमतामा सञ्चालन भइरहेको र यसको क्षमतालाई बढाउनुपर्ने
१५) सिपिङ कम्पनीहरू नेपालमा दर्ता नभएको र पोर्ट अपरेटरहरू तथा सबै सर्भिस प्रोभाइडर विदेशी भएकाले लजिस्टिक कस्ट बढी हुने गरेको छ, यसलाई कम गर्न दर्ता प्रक्रियालाई अगाडि बढाउनुपर्ने
१६) कस्टम पोइन्टमा मनी एक्सचेन्ज काउन्टर, रेट डिस्प्ले, टुरिजम इन्फर्मेसन सिस्टम, भ्याट रिफन्ड सिस्टम तथा इजि रेष्टुराको व्यवस्था मिलाउनु पर्ने
१७) हालका लागि भारतीय पर्यटकहरूलाई २५ हजार रुपैयाँ नगद ल्याउने सुविधालाई बढाएर दुई लाख भारतीय रुपैयाँ ल्याउन अनुमति प्रदान गर्ने
१८) भारतीय पर्यटकहरूले प्रयोग गर्ने भारतीय नम्बरको सवारी साधनलाई दिइने इजाजतको सुविधालाई अनलाइन मार्फत गर्न आवश्यक व्यवस्था मिलाउनु पर्ने
१९) ट्रेड एन्ड एक्सपोर्ट पर्मिसन काउन्सिलको युनिटलाई प्रदेश स्तरमा कार्य गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने
२०) श्रम अदालतको सेवा विस्तार गर्नुपर्ने
२१) राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट मात्र १० मिनेट लाग्ने भएकाले माउन्टेन फ्लाइट सुचारू गर्नुपर्ने
२२) जिटुजीमार्फत् सिमेन्ट कम्पनीले भारतको मार्केटमा पहुँच पुऱ्याउन संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने