नेकपा (एमाले) ले साउन मसान्तभित्र सदस्यता नवीकरणको अद्यावधिक विवरण पठाइसक्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ।
पार्टीका निर्णयहरू अन्तरपार्टी निर्देशन (अपानि) मार्फत सर्कुलर गर्दै एमालेले त्यस्तो निर्देशन दिएको हो।
एमालेको यस वर्ष ६० प्रतिशत हाराहारी मात्रै सदस्यता नवीकरण भएको छ। अघिल्लो वर्ष एमालेको सदस्यता पाँच लाख ५० हजार हाराहारी पुगेको थियो।
अघिल्लो वर्ष मिसन ग्रासरूट अभियानमार्फत् एमालेले सदस्यता नवीकरण बढाएको थियो। यद्यपि त्यो संख्या पनि दसौं महाधिवेशनको तुलनामा कमै हो।
एमालेको विधानमा २०८० चैत मसान्तभित्र सबै पार्टी सदस्यको नवीकरण भइसक्नुपर्ने व्यवस्था छ। अधिवेशनको वर्ष भएकाले र अभियान नै चलाएर नवीकरण नगरिएकाले संख्या घट्न पुगेको संगठन विभागले जनाएको छ।
‘जिल्ला कमिटीहरूले अनलाइन अद्यावधिक गरिएको विवरण यही साउन मसान्तभित्र प्रदेश कमिटीमा पठाउने, प्रदेश कमिटीहरूले भदौ मसान्तभित्र सदस्यताको प्रमाणीकरण केन्द्रीय संगठन विभागबाट गरी सक्ने,’ अपानिमा भनिएको छ।
एमालेले अधिवेशन सक्न बाँकी रहेका जिल्लामा कात्तिक मसान्तभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ।
भूगोलका ६६ जिल्ला र विशेष क्षेत्रका अधिकांश जिल्ला अधिवेशन सम्पन्न भइसकेको एमालेले बताएको छ।
अब कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका ३/३ जिल्ला र गण्डकी तथा कर्णाली प्रदेशका १/१ जिल्लामा मात्र अधिवेशन हुन बाँकी रहेको र उपत्यका विशेषमा युवा विद्यार्थी विशेष जिल्लाको अधिवेशन हुन बाँकी रहेको एमालेले बताएको छ।
अधिवेशन हुन बाँकी जिल्लाहरूलाई संगठन कमिटीमा रूपान्तरण गर्ने एमालेले बताएको छ।
अब गरिने सबै अधिवेशनहरू नवीकृत सदस्यताका आधारमा गर्ने र बाँकी सबै जिल्ला अधिवेशनहरू कात्तिक महिनाभित्र गरिसक्ने अपानिमा उल्लेख छ।
त्यस्तै पालिका, वडा, टोल र सो सरहका अधिवेशनहरू मंसिर महिनाभित्रै सम्पन्न गरिसक्न पनि निर्देशन दिइएको छ।