बंगलादेशमा आन्दोलनरत विद्यार्थी नेताहरूले संसद भंग गर्न अल्टिमेटम दिएका छन्।
संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने उनीहरूको चेतावनी छ।
२६ वर्षीय विद्यार्थी नेता नहिद इस्लामले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै मंगलबार दिउँसो ३ बजेसम्म संसद भंग गर्न माग गरेका हुन्।
संसद भंग नभए थप आन्दोलनका लागि तयारी अवस्थामै रहन पनि उनले प्रदर्शनरत विद्यार्थीहरूलाई बताएका थिए।
बंगलादेशको सेना प्रमुख वाकेर-उज-जमनले मंगलबार ती विद्यार्थी नेताहरूलाई भेट्ने बताएका थिए। यद्यपि उनीहरूबीचको भेट भइसकेको छैन।
सेना प्रमुख जमनले नयाँ सरकार बनाउने तयारी थालिसकेका छन्। सरकार बनाउन उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।
विद्यार्थी नेताहरूले भने सेना समर्थित वा सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन्।
विद्यार्थी नेताहरूले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन्। युनुसले पनि यसबारे स्वीकार गरिरहेकोझ उनका प्रवक्ताले रोयटर्ससँग भनेका छन्।
८४ वर्षीय युनुस र उनको ग्रामीण बैंकले सन् २००६ मा नोबल पुरस्कार जितेको थियो।
लाखौं जनतालाई १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेकोमा उनलाई पुरस्कृत गरिएको थियो।
गत जुनमा उनीविरूद्ध रकम हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भएको थियो। तर उनले उक्त आरोप अस्वीकार गरेका थिए। हाल युनुस पेरिसमा रहेको रोयटर्सले जनाएको छ।
त्यसैगरी बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पनि जेल सजाय भोगिरहेकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेता बेगम खालिदा जियालाई छाड्न पनि आदेश दिएका थिए।
सेनाका प्रमुख वाकेर-उज-जमन, नेभी र एयरफोर्स प्रमुख, बिएनपी सहितका शीर्ष नेताहरू राष्ट्रपतिले बोलाएको बैठकले सर्वसम्मतिले निर्णय गर्दै उनलाई छाड्न आदेश दिएका हुन्।
त्यस्तै आरक्षणविरूद्धको विद्यार्थी आन्दोलनको क्रममा पक्राउ परेका दुई हजार भन्दा बढीलाई पनि छाड्न आदेश दिएका छन्।
आरक्षणविरूद्धको आन्दोलन चर्किँदै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन्। उनी हाल भारतको शरणमा छिन्। त्यहाँबाट बेलायत जाने तयारीमा छिन्। तर कहिले जाने भन्ने यकिन भइसकेको छैन।
त्यस्तै उनले देश छाडेसँगै आन्दोलनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। सेना प्रमुखले पनि अन्तरिम सरकार बनाइने घोषणा गरेका थिए।