परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपालीको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।
सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।
‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरूपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ।’
त्यस्तै सरकारले कुनै सहयोग आवश्यक चाहिए दूतावासका दुई वटा नम्बरमा सम्पर्क गर्न सकिने पनि जनाएको छ।
कायरोस्थित दूतावासका द्वितीय सचिव दिपक घिमिरेलाई +२०१०९७७७२३४८ र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२०मा सम्पर्क गर्न सकिने जनाएको छ।
लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गर्नका लागि दूतावासले फारम समेत खोलेको छ। दूतावासको बेवसाइटमा गएर विवरणहरू उपलब्ध गराउन पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।
लेबनानमा रहेका विदेशीहरूलाई देश छाड्न विभिन्न राष्ट्रहरूले सूचना जारी गरेका छन्। मिडल-इस्टमा बढ्दो तनावका कारण अमेरिका, अष्ट्रेलिया, फ्रान्स, क्यानडा, दक्षिण कोरिया, जापान लगायतले लेबनान जतिसक्दो लेबनान छाड्नू भन्दै सूचना जारी गरेको छ।