नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर निश्चित समयका लागि खटाउने भएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बलियो संगठन बनाउनेलगायत विषयमा छलफल भएको छ।
‘केन्द्रीय सदस्यहरूलाई जिल्ला-जिल्लामा खटाउने विषयमा छलफल गरिएको छ। साउन २३ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा थप छलफल गरेर निर्णयमा पुग्छौं,’ प्रवक्ता प्रकाशशरण महतले सेतोपाटीसँग भने।
बूढानीलकण्ठमा सोमबार बिहान पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको थियो। उक्त बैठकमा अधिकांश नेताहरूले संगठन सुदृढीकरण अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर कम्तिमा तीन/चार महिनाको समय दिएर संगठन सुदृढीकरणका काम गर्नुपर्ने उनीहरूको भनाइ थियो। कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ।
साथै बैठकमा महासमितिको गत फागुन ७ देखि १० गतेसम्म चलेको बैठकका निर्णय सुझाव समेटेर केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्नेलगायतका विषयमा पनि कुराकानी भएको थियो।
प्रवक्ता महतका अनुसार संघीय र प्रदेशका सरकारहरूलाई प्रभावकारी बनाउने विषयमा पनि नेताहरूबाट सुझावहरू प्राप्त भएका छन्। पार्टी सत्तामा रहेका बेला संगठन कमजोर बन्ने गरेको गुनासा आएको भन्दै कांग्रेसमा संगठनलाई चलायमान बनाउनुपर्ने कुरासमेत उठ्ने गरेको छ।