नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल भएको छ।
आइतबार बिहान ९ बजेदेखि छलफल सुरू भएको हो। कांग्रेसमा १४ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि अहिले १३ जना मात्रै छन्। सभापति देउवाले कोषाध्यक्ष मनोनीत गरिसकेका छैनन्।
कांग्रेसले साउन २३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
उक्त बैठकमा छलफल गरिने एजेन्डालगायत विषयमा पदाधिकारी र पूर्वपदाधिकारीबीच कुराकानी भएको हो।
गत फागुन ७ देखि १० गतेसम्म गोदावरीमा चलेको महासमिति बैठकले पारित गरेका उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति, महामन्त्री गगन थापाले पेस गरेको सांगठानिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीति प्रस्ताव सुझावसहित अनुमोदन केन्द्रीय समितिबाट गर्न बाँकी छ। यो विषयमा पनि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा छलफल हुनेछ।
साथै विभागहरू गठन गर्नेजस्ता आन्तरिक विषय र सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउनेलगायत विषयमा पनि कुराकानी हुने नेताहरूले बताएका छन्।