नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कमजोरीहरू सच्याउँदै पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्याउने बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै महामन्त्री थापाले कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाउने पनि बताए।
‘कांग्रेस पार्टी अझ शुद्ध होस्, पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्। पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईंहरू कसैको शीर ननिहुरियोस्,’ थापाले भने, ‘पार्टी भित्रको शुद्धीकरणको विषयलाई गम्भिरतापूर्वक लिन्छौं। गल्ती कमजोरीहरू सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्याउँछौं।’
कांग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भूमिका खेल्नेहरूलाई सम्मान गरिने उनले बताए।
(न्युज एजेन्सी नेपाल)