नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई भन्दा कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै महामन्त्री शर्माले सरकारले कामलाई जोड दिनुपर्ने बताए।
‘अहिलेको प्रधानमन्त्री केपी ओली र मन्त्रीहरूले बोल्ने कुरालाई दोस्रो प्राथमिकतामा र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ महामन्त्री शर्माले भने, ‘यो सरकारसँग नागरिकहरूको धेरै अपेक्षा छ, त्यो सम्बोधन गर्नुपर्छ।’
उनले प्रदेशहरूलाई अधिकार दिनेसम्बन्धी विधेयकहरू अघि बढाउनुपर्ने पनि बताए।
नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचारका मुद्दाहरूमा अनुहार नहेरी छानबिन र कारबाही गरिनुपर्नेमा उनले जोड दिए।
‘गिरीबन्धुमा कांग्रेसले ७० बिघा जग्गा बेचेर खायो भन्ने आरोप लगाइएको थियो। मैले संसदमै उभिएर भनेको थिएँ- को व्यक्तिले खायो? प्रधानमन्त्रीज्यू खोलिदिनुस् फाइल, हालिदिनुस् ती कांग्रेसलाई जेल,’ शर्माले भने।