नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सरकारमा रहेकोले धेरैलाई निरङ्कुशता जन्मिने शंका पनि रहेको बताएका छन्।
सानेपामा आइतबार भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै कोइरालाले कांग्रेस-एमाले सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने बताए।
‘सरकारमा कमीकमजोरी देखिएका खण्डमा आवाज बुलंद गर्नुपर्छ,’ उनले भने, ‘दुई ठूला दल सरकारमा छन्, कांग्रेस र एमाले। दुई ठूला दल सरकारमा भएपछि निरङ्कुशता जन्मिने पनि त्यत्तिकै शंका छ धेरैलाई। गल्ती गरेको छ र हामीले आवाज उठाउन सक्यौं भने सरकार ठिक ट्र्याकमा हिँड्छ।’
उनले कांग्रेसलाई बलियो बनाउन सकिने पनि बताए।
राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएको कोइरालाको भनाइ छ।
कांग्रेस र एमाले मिलेर बनाएको सरकारलाई टिकाएर लैजानुपर्ने पनि उनले बताए।
उनले कांग्रेसले एक्लै चुनाव लड्ने क्षमता राख्नुपर्ने पनि बताएका छन्।