प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन्।
नेपाली कांग्रेस र एमालेले संविधान संशोधनको विषय उठाएको उल्लेख गर्दै उनले स्टन्टबाजीको रुपमा सरकारले कुनै पनि काम नगर्ने बताए।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने बताए।
संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन्।
‘कतिपयले अहिले पनि हाम्रोविरुद्ध भ्रम फिजाउने कोशिस गरिरहेका छन्। हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौं। यो धार्मिक ग्रन्थ जस्तो वेद हो कि, बोइबल हो कि, कुरान हो कि? जस्तो असंशोधनीय विश्वासमात्रै गर्न पर्ने, फेर्न नपाइने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने,’ उनले भने, ‘संविधान एउटा देशको अग्रगतिका लागि, जनताको भलाइका लागि, सुशासन र विकासका लागि, सामाजिक उन्नति, प्रगतिका लागि, आफ्नो संस्कृति समयानुकूल विकासका लागि समयमा परिस्कृत हुँदै जाने र परिमार्जन हुने जाने दस्तावेज हो।’
(न्युज एजेन्सी नेपाल)