प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्रका नाममा गुटबन्दी मौलाउन थाले पार्टी उँभो नलाग्ने बताएका छन्। पार्टी कार्यालयमा आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै उनले संसारमा गुटबन्दीले कम्युनिस्ट पार्टी उँभो लागेको इतिहास नभएको बताए।
‘स्थिर रहने, कायम रहने पार्टीहरूले गुटबन्दी गर्दैनन्। गुटबन्दी हुँदैन त्यहाँभित्र। गुटबन्दी सहँदैनन्। पार्टी ओरालो लाग्नु छ भने गुटबन्दीको बाटो समाउँछ पार्टीले। पार्टीले गुटबन्दी समयमा नियन्त्रण गरेर पार्टीलाई एउटा पार्टीको रूपमा अगाडि बढाएन भने विभाजित हुन्छ,’ उनले भने।
उनले विगतमा एमाले विभाजनको पछाडिको कारण पनि गुटबन्दी नै भएको औंल्याए। २०७८ भदौमा एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको थियो।
‘हाम्रो पार्टी पनि विभाजन हुनुका पछाडि पनि त्यही कारण हो। लामो समयदेखि गुटबन्दी थियो। या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो। सकिनएन भने विभाजनमा जान्थ्यो। हाम्रो पार्टी त्यस्तै भयो,’ उनले भने।
एमालेमा गुटबन्दी स्वीकार्य नभएको उनले बताए। कतिपयले उचाल्न सक्छन् भनेर उनले सचेत पनि गराए।
‘कतिपयले उचाल्न सक्छन्, गुटबन्दीका नाममा भनेर। डेमोक्रेसी छ भन्छन्, बैठकमा कुटाकुट पनि हुँदैन, त्यस्तो पनि कम्युनिस्ट पार्टी हुन्छ? बैठकमा भनाभन नै भएन, त्यस्तो पनि डेमोक्रेसी हुन्छ? बैठकमा भनाभन होस्, तब न अलिक.. केही आदनप्रदान यसो.., हातको आदानप्रदान भयो भने डेमोक्रेटिक पार्टीमा यस्तो त भइहाल्छ नि भनेजस्तो परिभाषा हाम्रो पार्टीमा चल्दैन। हामी कुनै पनि प्रकारको गुटबन्दी स्वीकार्य छैन,’ उनले भने।
एमालेका नवनियुक्त उपाध्यक्ष गुरू बरालसहित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमालेले गत शुक्रबार बसेरा होटलमा बसेको सचिवालयको ३४ औं बैठकले उपाध्यक्ष बराल र १७ जना केन्द्रीय सदस्यहरूलाई मनोनीत गरेका थियो।
सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र देव (सप्तरी), रामप्रीत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देले (तनहुँ), मनोहर पौडेल विक (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही) ले शपथ लिएका हुन्।
त्यस्तै इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुषाल (अर्घाखाँची), प्रभा कोइराला (कास्की), मञ्जु शर्मा चालिसे (बाागलुङ), आशा जवेगु (पाँचथर) ले पनि शपथ लिएका थिए।
त्यस्तै, अनुशासन आयोगको सदस्यमा लमजुङमा मायानाथ अधिकारीलाई मनोनय गरिएको थियो। उनीहरूलाई पार्टी अध्यक्ष ओलीले पद तथा गोपनीयताको शपथ गराएका थिए।