राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द कार्यशालाले पार्टी केन्द्रीय समितिलाई २०८२ वैशाख तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको छ।
त्यस्तै आगामी असोज ३ र ४ गते राष्ट्रिय भेला आयोजना गर्न पनि सुझाव दिएको छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले एक विज्ञप्तिमार्फत् शनिबार सम्पन्न दुईदिने बन्द कार्यशालाले दिएका सुझावहरू सार्वजनिक गरेका हुन्।
पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजित बन्द कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता लगायत ६ विषयमा छलफल भएको उनले बताए।
यस्ता छन् कार्यशालाले कार्य समितिलाई १५ बुँदे सुझावः
- २०८२ वैशाख तेस्रो साता महाधिवेशन गर्ने।
- आगामी असोज ३ र ४ गते राष्ट्रिय भेला आयोजना गर्ने।
- विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन आगामी भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने।
- पार्टीको जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरी जिल्ला तदर्थ समिति गठन गर्ने।
- पार्टीको वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने।
- शासकीय स्वरूपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधन समेतको विषयलाई दृष्टिगत गरी पार्टीको अवधारणा तयार गर्ने।
- जनआवाज अभियान सञ्चालन गरी देशभरिको जनगुनासा तथा मुद्दाहरू संकलन गर्ने, सदनमा उठाउने र कार्यान्वयन भए/नभएको अनुगमन गर्ने।
- पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी लगायत कार्यक्रममा जाने व्यक्तिहरूको छनोटका लागि मापदण्ड तयार गर्ने।
- पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’ को अवधारणा लागू गर्ने।
- विधेयक मन्थन विभागलाई संसदमा दर्ता भएका विधेयकबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने।
- क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको विधान अनुसार भदौ मसान्तसम्म नियमावली र कार्यविधि तयार गर्ने।
- पार्टीको मूल्य-मान्यता र आचारसंहिता आधारित दस्तावेजहरू पुनरवलोकन गरी सदस्यहरूबाट प्राप्त सुझावहरू समेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने।
- देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरूआत गर्ने।
- चरणबद्ध रूपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्ने।
- आगामी साता सातै प्रदेशमा बन्द कार्यशाला आयोजना र केन्द्रीय बन्द कार्यशालामा सहभागी भएका नेताहरू सहजीकरणका लागि सहभागी हुने।