लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरूको कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।
प्रदेश विकास समस्या समाधान समितिको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिफल दिने खालका योजनाहरूलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
‘जुन काममा हात हाल्छौं। त्यसबाट परिणाम आउनुपर्छ। प्रतिफल आउने योजनाहरूलाई विशेष जोड दिएर अघि बढौं,’ उनले भने, ‘५–७ लाख रुपैयाँका आयोजना छन्। तर, त्यसले प्रतिफल दिँदैन भने कार्यान्वयन नगरौं। रातो किताबमा लेखिएको भएपनि त्यसले उपलब्धि दिँदैन भने कार्यान्वयन गर्न जरुरी छैन।’
प्रदेश सरकारले अघि बढाएका आयोजना समय सीमा भित्रै सम्पन्न गर्नेगरी भूमिका बढाउन मन्त्रालय तथा मातहतका नियकालाई निर्देशन दिए।
‘समय तोकिएको छ। त्यसभित्र काम सम्पन्न गर्न जिम्मेवारी पूरा गर्नुहोस,’ उनले भने, ‘यहाँबाट समाधान गर्न सकिएका समस्या यहाँबाट समाधान गरौं। नसकेका योजनाको बारेमा राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाऔं।’
प्रदेश समस्या समाधान समितिको बैठकबाट गत आर्थिक वर्ष २०८०\०८१ म वित्तिय हस्तान्तरण शीर्षक अन्तरगत संघीय सरकारबाट विनियोजन भएको वित्तिय समानीकरण अनुदानको प्राप्त हुन बाँकी रहेक संघीय सरकारबाट प्राप्त हुनुपर्ने विषय प्राथमिकताका साथ उठाइएको छ।
‘प्रदेश विकास समस्या समाधान समितिले समाधान गर्न नसकेका समस्याहरूलाई राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउँदै संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउछौं,’ उनले भने, ‘प्रदेशमा स्रोतहरुको अभाव छ। संघीय सरकारबाट प्राप्त हुने श:सर्त अनुदानको रकम घटाई वित्तिय समानीकरण अनुदानको रकम बढाउनुपर्छ भनेर पनि उठाएका छौं।’