संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्।
शुक्रबार राज्यमन्त्रीको पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरी शनिबार आफ्नो निर्वाचन क्षेत्र पुगेर कार्यकर्ता र मतदातालाई भेटमा यस्तो बताएका हुन्।
‘मेरो निर्वाचन क्षेत्रको आवश्यकता, यहाँको जनचाहाना र म प्रतिको आशा केके छन् भनेर सोध्न आएको हुँ । तपाईँको लागि मैले राज्यमन्त्रीको भूमिकामा रहेर गर्नुपर्ने कामहरुको लिष्ट तयार पार्न आएको हुँ,’ उनल भने।
उनले राज्यमन्त्री भएकाले कार्यकारी भूमिका नरहेको तर संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरेर जनहितमा काम गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।
गलत नियत र उद्धेश्य लिएर भने भेट्न नआउन पनि उनले आग्रह गरे।
‘मसँग गलत नियत, गलत सोच र कसैको व्यक्तिगत फाइदा हुने कामका लागि यसो गर्दिनुस्, उसो गर्दिनुस् भन्दै नआउनुस् । तर, समग्र देश र समाजको लागि मैले मेरो भूमिकामा रहेर गर्न सक्ने हरेक कामहरुका लागि मलाई रचनात्मक सल्लाह सुझाव दिन नहिचकिचाउनुस्’, राज्यमन्त्री चौधरीले भने।
उनले राम्रो कामका लागि सहकार्य गर्न तयार भएको तर गलत कामका लागि कहिल्यै कसैसँग हात नमिलाउने बताए।
गृहजिल्ला पुगेका राज्यमन्त्री चौधरीले कैलालीकै चर्चित र धार्मिक महत्व बोकेको घोडाघोडी मन्दिरमा पनि दर्शन गरेका छन्।
देशभरका सांस्कृतिक, पर्यटकीय क्षेत्रहरुको व्यबस्थापन, प्रबद्र्धन तथा प्रचारप्रसारका लागि आवश्यक योजना बनाउने दायित्व आफ्नो रहेको बताउँदै उनले त्यसका लागि लागि पर्ने बताए।
‘मेरो काम बजेट बाँड्ने हैन् । बजेटको कार्वान्वयनको अबस्था के छ रु भनेर अध्ययन अनुगमन गर्ने हो । कहाँ कहाँ बजेट हाल्नु पर्नेछ ? कहाँ कसरी काम गर्नुपर्नेछ ? मन्त्रालय मातहतमा भएर काम गरिरहेका कहाँ कमिकमजोरी भएको छ ? भनेर अध्ययन गर्ने, अनुगमन गर्ने हो’, चौधरीले भने, ‘राज्यमन्त्रीले केही गर्दैनन्, केही गर्न सक्दैनन् भन्ने भाष्य परिवर्तन् गरेर आफ्नो अधिकारको अधिकतम प्रयोग गरेर दत्तचित्त र इमान्दारिताका साथ काम गर्नेछु ।’