उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा राजनीतिक स्थायित्व कायम गरी विकास निर्माणका कामलाई अगाडि बढाउन दुई ठूला राजनीतिक शक्ति मिल्नुपरेको बताएका छन्।
शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को दुवै प्रदेश कार्यसमितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्व, सामाजिक र आर्थिक विकासका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपरेको बताएका हुन्।
उनले वर्तमान सरकारलाई सफल बनाउन जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने कार्यमा जुट्न पार्टीका कार्यकर्तालाई पनि आह्वान गरे।
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पहिलो र दोस्रो ठूलो राजनीतिक दलबीचको सहकार्यमा बनेको वर्तमान सरकार राजतीतिक स्थिरता र विकासका लागि परिणाम देखिने गरी काम गर्ने बताए।
दुई ठूला दल मिलेर प्रदेशमा सरकार बनेपछि स्थिरताको जग बसेको पनि उनले बताए।