नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले ओली नेतृत्वको सरकारले सुरुवाती दिनबाटै सुशासनको धज्जी उडाएको दाबी गरेका छन्।
अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिले मकवानपुरगढी गाउँपालिकाबाट एसईईमा सफल भएका बिध्यार्थीलाई सम्मान गर्न भानु माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता गौतमले बर्तमान सरकार प्रथम दृष्टीमै सुशासन विरोधी रहेको पुष्टि भएको जिकिर गरेका हुन्।
‘प्रचण्ड सरकारले चलाएको सुशासनमुखी कदमबाट अत्तालिएकाहरुको गठजोडमा बनेको ओली सरकारले अर्बौको बिजूली बक्यौता उठाउने बिधुत प्राधिकरणको कदममा साधक बन्नु पर्नेमा उल्टो बाधक बनेर सुशासनको धज्जी उडाइको छ,’ नेता गौतमले भने, ‘सरकार गठन गर्दा सुशासन बिरोधी गठजोडको जे आरोप लागेको छ, सरकारको एकपछि अर्को कदम चालेर स्वयमले त्यसको पुष्टि गरेको छ।’
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य मानकुमारी नेपालीले बिध्यार्थीले अब के पढ्ने भन्ने कुरा कसले भन्यो भन्ने आधारमा नभई मनले के भन्छ भन्ने आधारमा रोज्न, पढ्न सुझाव दिईन।
भानु माविका प्रअ राजेश थापाले यस्ता कार्यक्रमले विध्यार्थीलाई मिहेनतपुर्वक अगाडी बढ्न थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे।
सम्मान कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला सचिव बीरबहादुर घलान, प्रदेश सदस्य सिता पुलामी, रिटर्नी सेन्टर मकवानपुरका इन्चार्ज बिजय गौतम, अखिल (क्रान्तिकारी) प्रदेश सचिव रामकृष्ण शिवाकोटी, केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, जिल्ला अध्यक्ष बुद्ध अर्याल, जिल्ला सह सचिव सुजन सिलवाल, कोषाध्यक्ष अनिल बसेल माओवादी केन्द्र मकवानपुरगढी गॅाउपालिकाका पार्टी अध्यक्ष राजकुमार खड्का लगायतको उपस्थिति थियो।