पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यशाला आयोजना गरिरहेको छ।
पार्टी कार्यालय चःमतिमा जारी कार्यशालमा पार्टीको विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब, अभियान लगायतका विषयमा छलफल गर्न ६ वटा समूह बनाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
विचार अन्तर्गतको समूहमा अर्थ राजनीतिक एजेन्डामा र शासकीय स्वरूपबारे छलफल हुनेछ।
संगठन समूह अन्तर्गत कस्तो संगठन, कत्रो संगठन? राइट टु रिकल, प्राइमरी/पार्टी/जनरल इलेक्सन, राष्ट्रिय भेलाबारे छलफल हुनेछ। मूल्य–मान्यता समूहमा हामी कसरी फरक छौं? दलको आचारसंहिता, स्वट विश्लेषण, पार्टीको डिएनए आदिबारे छलफल हुने ती केन्द्रीय सदस्यको भनाइ छ।
संसदीय मामिलामा अन्तर्गतको समूहमा सदनमा उठाउनुपर्ने जनताको पाँच मुद्दाको छनोट, विभागहरूको सहकार्य, समन्वयबारे छलफल हुनेछ।
लिडरसिप एकेडेमी समूहमा लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र प्राइमरी इलेक्सनबारे छलफल हुनेछ।
अभियानमा पार्टीको कोषवृद्धि, पार्टीको तीन, छ र बाह्र महिने रणनीतिबारे छलफल हुनेछ।
६ समूहको छुट्टाछुट्टै टोली नेता तोकिएको छ।
विचार समूहको टोली नेता शिशिर खनाल तोकिएका छन्।
संगठनमा भरतमणि देवकोटा, अभियानमा क्रान्तिशिखा धिताल, मूल्य–मान्यतामा खुस्बु सरकार श्रेष्ठ, संसदीय मामिलामा सोबिता गौतम, लिडरसिप एकेडेमी/क्यान्डिडेट क्लबको समूह नेता अतिन्द्र दाहाल तोकिएका छन्।
यी टोली नेताहरूले शनिबार आ–आफ्नो समूहको सुझाव, राय प्रस्तुत गर्नेछन्।