नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलले प्रदेश सरकारमा सहभागी हुने सांसदहरूको नाम पठाएको छ।
प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टका अनुसार चार जनालाई मन्त्री तोकेर मुख्यमन्त्री यामलाल कँडेललाई पठाइएको हो।
उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढाको नाम तोकेर पठाइएको हो।
‘हामीले मुख्यमन्त्रीलाई नाम पठाएका छौं, उहाँले प्रदेश प्रमुखलाई बुझाउने र शपथ गराउने निर्णय लिनुहुन्छ,’ प्रमुख सचेतक विष्टले भने।