परराष्ट्रमन्त्री आरजु राणा देउवाले शेरबहादुर देउवाका लागि आफू भमरा भएको बताएकी छन्।
बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री आरजुले श्रीमान एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको लागि भमरा भएको बताएकी हुन्।
टीकापुर र भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम पनि रहेको र तत्कालीन गृहमन्त्री रवि लामिछानेले उक्त फाइल खोल्ने तयारी गरेपछि नयाँ सत्ता समीकरण बनेको हो भन्ने प्रश्नमा उनले राक्षस मार्न भमरा प्रयोग भएको कथा सुनाइन्।
'एक राक्षस हुन्थ्यो रे! सबै जनाले त्यो राक्षसलाई मार्न खोज्थ्यो रे तर त्यो राक्षस नमर्ने,' मन्त्री आरजुले कथा सुनाउँदै भनिन्, 'राक्षसको नाइटोबाट उड्ने भमरा समाएर किचिक्क पारेपछि राक्षस मर्ने।'
'म चाहिँ शेरबहादुर देउवाको जीवनमा त्यो भमरा हो। मलाई केही गर्न पाए उहाँलाई कसरी माइनस गर्न सकिन्छ भन्ने गेम हो,' उनले अगाडि भनिन्।
यस्तै अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेको उल्लेख गर्दै आफूहरूले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरूरी नरहेको बताइन्।
अहिले सरकारमा रहेका मन्त्रीहरूलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
अहिलेको सरकारले अर्थ कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि उनले बताइन्।
वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको उनको भनाइ छ।
दुवै राजनीतिक दलहरूको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने उनले दाबी गरिन्।
‘सरकारमा रहेका दुई पार्टीहरू धेरै नै पुराना पार्टीहरू छन्। हामीले काम गर्नसक्छौँ। हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरूरी छैन। किनभने हामीले गरेर देखाइसकेका छौँ,’ उनले भनिन्, ‘हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो। हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरूरी छैन।’