नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीका सबै पदाधिकारीहरूले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन्।
गत साउन १४ गते केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा गजुरेलले पार्टीमा पदाधिकारीहरूबाट पनि गम्भीर गल्ती भएको भन्दै विधिको सुरूवात माथिबाटै हुनुपर्ने तर्क गरे। साथै पदाधिकारीहरूले पदबाट राजीनामा दिन तयार हुनुपर्ने प्रस्ताव उनको थियो।
पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधानले स्थायी कमिटीको एक तिहाइमात्रै पार्टीको पदाधिकारी बन्ने व्यवस्था गरेको तर २१ जना पदाधिकारी विधान विपरीत हुन जाने बताएका छन्। विधानअनुसार माओवादीले १५ जनामात्रै पदाधिकारी बनाउन पाउँछ।
‘मैले आफ्नो हिस्साको गल्ती स्वीकार गर्दै सबै पदाधिकारीले राजीनामा दिनुपर्छ भन्ने प्रस्ताव गरेको छु,’ गजुरेलले सेतोपाटीसँग भने, ‘अरू साथीहरू तयार हुनुहुन्न भने म मेरो हिस्साको कमजोरी स्वीकार गर्दै राजीनामा दिन तयार छु भनेर अध्यक्षज्यूबाट अनुमति मागेको छु।’
तपाईंले राजीनामाको घोषणा गर्नुभएको हो भन्ने सेतोपाटीको प्रश्नमा गजुरेलले अहिले नै राजीनामा नदिएको बताए।
‘होइन, मैले अध्यक्षज्यूबाट राजीनामाको अनुमति मागेको हुँ। उहाँले अनुमति दिनुभयो भने राजीनामा दिन्छु,’ उनले भने।
उनले पार्टी सुधारका लागि आफूले आइप्याडमा ६ वटा बुदाँ टिपेर लगेको र त्यही कुरा बैठकमा पढेर सुनाएको बताए। उनको प्रस्तावको विषयमा पदाधिकारी बैठक प्रवेश भने गरेन।
बैठकले आउँदो साउन २५ गते पार्टीको स्थायी कमिटी बैठक आह्वान गरेको छ।
राजीनामाको विषय स्थायी कमिटीमा पनि छलफल हुने अपेक्षा गरेको उनले बताए।
माओवादीको पदाधिकारीको बैठक मंगलबारसम्म बसेको थियो।
गत साउन १३ गतेदेखि सुरू भएको बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएका थिए।
पदाधिकारी बैठकमा उठेका विषय स्थायी कमिटीमा विस्तृतमा छलफल हुने माओवादी केन्द्रले बताएको छ।