नेपाली सेनाका रथी अशोक सिग्देल कायममुकायम प्रधान सेनापति भएका छन्।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सिग्देललाई कायममुकाय प्रधानसेनापति बनाउने निर्णय भएको बताए।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई कायममुकायम प्रधान सेनापति बनाउने निर्णय गरेको थियो।
हालका प्रधान सेनापति प्रभुराम शर्माको भदौ २४ गते कार्यकाल सकिँदैछ। नेपाली सेनामा आफ्नो कार्यकाल सकिनु एक महिना अगावै बिदामा जाने प्रचलन छ।
त्यसअनुसार शर्माले साउन २५ गतेदेखिको बिदा माग गरेका थिए। रक्षा मन्त्रालयले उनको बिदा पनि स्वीकृत गरिसकेको प्रवक्ता एवं सहसचिव मनोजकुमार आचार्यले जानकारी दिए।
उनकाअनुसार बिदा स्वीकृत भएसँगै मन्त्रालयले सिग्देललाई कायममुकायम प्रधान सेनापति बनाउने प्रस्ताव गरिएको थियो।
शर्माको कार्यकालपछि सिग्देल प्रधान सेनापति बन्ने निश्चित भइसकेको थियो। यसअघि सिग्देलको उमेर विवादका विषयले उनको आलोचनासमेत भएको थियो।
तर जंगी अड्डाले साउन ३ गते गरेको पत्रकार सम्मेलनमा उनको नागरिकता, नागरिकताको प्रतिलिपि, विद्यालय र क्याम्पसमा भएको विवरण समेत सार्वजनिक गरी उनको कुनै उमेर विवाद नरहेको भन्दै प्रष्टीकरण दिएको थियो।
सिग्देलको उमेर विवाद उपरथीबाट रथीमा बढुवा हुँदा नै उठेको थियो। त्यतिबेला रक्षा मन्त्रालयले आन्तरिक रूपमै छानबिन गरी प्रष्ट भएसँगै उनको बढुवा अघि बढाएको थियो।
सैनिक ऐन, २०६३ अनुसार प्रधानसेनापतिले ६१ वर्षको उमेरसम्म आफ्नो पदमा बहाल रहनसक्नेछन्। त्यस्तै प्रधान सेनापतिको पदावधि तीन वर्षको हुने उल्लेख छ।
यो पनि: नेपाली सेनाको प्रष्टीकरण- रथी सिग्देलको उमेरबारे केही विवाद छैन (भिडिओ)