नेकपा (माओवादी केन्द्र) ले शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाई जनतामा जाने कुरामा जोड दिएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाई जनतामा र वर्ग समुदायमा जाने निष्कर्ष निकालेको बताएको हो।
बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले शुक्रबारदेखि सोमबारसम्म १८ जनाले आफ्ना धारणा राखेको र अधिकांशले पार्टी शुद्धीकरण र जनतामा जाने कुरामा जोड दिएको बताए।
उनले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्ग समुदायबाट टाढा रहनु रहेको निष्कर्षमा नेताहरू पनि पुगेको बताए।
उनले भने, ‘आजसम्म १८ जना कमरेडले आफ्ना धारणा राख्नुभयो। हामीले समयको पावन्दी तोकेका थिएनौं। स्पष्ट रूपमा आफ्ना भनाइ राख्न भनेका थियौं। पहिलो दिन प्रस्तुत भएको एजेण्डामा नै छलफल भयो। वर्तमान परिस्थिति र पार्टी निर्माण थियो। पार्टी निर्माणमा सबैभन्दा बढी जोड शुद्धीकरणमा दिइएको छ। शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाई जनतामा जाने कुरामा जोड दिइएको छ।’
उनले अगाडि भने, ‘पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ। वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो, वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ। यसमा पनि हाम्रो व्यापक छलफल भएको छ। वर्ग र जनतासँग फर्किनुपर्छ भन्ने निचोड रहेको छ।’
प्रवक्ता सापकोटाले पार्टीको वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको निष्कर्ष निकालेको बताए। —न्युज एजेन्सी नेपाल