कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले वार्षिक करिब २२ लाख कृषक परिवारले अनुदानमा रासायनिक मल प्राप्त गर्ने गरेको बताएका छन्।
प्रतिनिधि सभा बैठकमा सोमबार बोल्दै उनले करिब १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त गर्ने बताए।
नेपालमा ४१ लाख ३० हजार कृषक परिवार रहेको उनको भनाइ छ।
नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि कृषकहरुलाई संघ, प्रदेश र स्थानीय तहबाट सहुलयित सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए।
सरकारले रासायनिक मलको मूल्यमा, सिँचाइको लागि विद्युत महशुलमा, कृषि तथा पशुपंक्षी बीमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न मेसिनरी औजारमा, कृषि कर्जाको ब्याजमा, गहुँ, मकैको बीउको मूल्यमा, फलफूल बिरुवा विशेषबाट सेवा, सुविधा र सहुलियत प्राप्त गर्ने कृषक र रोपण गर्ने कृषकलाई बिरुवाको मूल्यमा, माछा पोखरी निर्माण जस्ता क्षेत्रमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको उनले बताए।
मन्त्री अधिकारीले प्रदेश सरकार र स्थानीय तहले आफ्नो आवश्यकताअनुरुप दूधको उत्पादन, निश्चित संख्याभन्दा बढी भेडा, च्याङ्ग्रा, याक पाल्ने कृषकलाई पशुवस्तुको उपचार खर्च, बजार मूल्यमा सहुलियत प्रदान गर्दै आएको पनि बताए।
(न्युज एजेन्सी नेपाल)