सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण लिने भएको छ।
सोमबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा साउन १० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन एसडिआर अर्थात १ हजार मिलियन अमेरिकी डलर करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताए।
सडक सुधार आयोजनाको स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले कार्यान्वयन गरी संघ सरकारले मूल्याङ्कन तथा अनुगमन गर्ने उनले बताए।
साथै उनले तल्लो मोदी, नयाँ मोदी १३२ केभी प्रशारण लाइन आयोजना अन्तर्गत पर्वत जिल्लामा करिव ०.९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय भएको बताए।
सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र निर्देशिका २०७५ अनुसार १५ जिल्ला ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय भएको उनले बताए।
नेपाल सरकारको नाममा दर्ता रहेको कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका अन्तर्गत बासखोर स्वास्थ्य चौकीको भवन निर्माणका लागि ०–१७–७ विघाजग्गा उपयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि उनले जानकारी दिए।
(न्युज एजेन्सी नेपाल)