उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन्।
काठमाडौंमा सोमबार नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औं कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने प्रतिवद्धता जनाए।
सोहीअनुसार मौद्रिक नीति आएको पनि उनको भनाइ छ।
वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्ने गरी आएको उनले बताए।
ऐन, कानूनको कार्यान्वनय नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि उनले आग्रह गरे।
‘तपाईंहरूले काम गर्दा नीतिगत तवरमा समस्या भोगिरहनुभएको छ, त्यसको लागि अलि खुकुलो पार्ने, व्यवस्थित गर्ने र सरलीकृत गर्ने भूमिका निर्वाह गर्नेछु। काम गर्दैगर्दा तपाईंहरुले भोग्दै आउनुभएका समस्यालाई सरकारलाई बारम्बार घच्घच्याइरहनु पर्छ,’ उनले भने।
सरकारले अहिलेको अर्थतन्त्रलाई अलिअघि बढाउने, जीवन्तता ल्याउनका लागि भाषणहरु भन्दा पनि काम गरिरहेको उनले बताए।
‘लामो र धेरै कुरा गर्नुभन्दा पनि हामीले काम गरेर देखाउनुपर्नेछ,’ उनले भने। उपप्रधानमन्त्री सिंहले समस्या परेका ठाउँलाई सहज र नीतिगत रुपमा कार्यान्वयन गर्न आफूले सक्ने सहयोग गर्ने बताए।
(न्युज एजेन्सी नेपाल)