सहकारीको बचत ठगीबारे छानबिन गर्न गठित समितिले विदेशमा रहेका १८ जनालाई झिकाउन गृहमन्त्री रमेश लेखक नाम उपलब्ध गराएको छ।
सोमबार सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको बैठकले गृहमन्त्री लेखकलाई विदेशमा रहेका १८ जनालाई स्वदेश ल्याउन भन्दै नाम उपलब्ध गराएको हो।
सूर्यदर्शन, सहारा, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समनता जस्ता सहकारीको बचत दुरूपयोगका सम्बन्धमा सहकारीका पदाधिकारी विदेशमा रहेको भनी गुनासो प्राप्त भएकाले उनीहरूको नाम गृहमन्त्रीलाई बुझाइएको संयोजक सूर्य थापाले जानकारी दिए।
‘अमेरिका, बेलायत, मलेसिया, युरोप, भारत र कतिको स्थिति अज्ञात रहेको हुँदा उनीहरूलाई खोज्न, उहाँहरूलाई स्वदेश फर्काउन, र उहाँहरूलाई छानबिन समितिको सम्पर्क र छानबिनको दायरामा ल्याउन गृहमन्त्रीज्यूलाई भनेका छौं,’ उनले भने, ‘समितिले उहाँलाई त्यो निर्देशन दिएको छ। ती १८ जनालाई सम्पर्कमा ल्याइसकेपछि मात्रै समिति एउटा निष्कर्षमा पुग्न सक्छ।’
कालिमाटी र पुल्चोकमा रहेको सुमेरू सहकारीका भरत महर्जन, उनकी श्रीमती राजमाया, छोरा सचिन र छोरी सरलाको नाम पनि समितिले गृहमन्त्री लेखकलाई बुझाएको छ। उनीहरू विदेश गएको भन्ने गुनासो पीडितबाट प्राप्त भएको थापाले बताए।
त्यस्तै सूर्यदर्शन सहकारी पोखराका अध्यक्ष रहिसकेका ज्ञानबहादुर बमजन, थानबहादुर मगर, भूपेन्द्र राई, तेजबहादुर बमजन तामाङको नाम पनि गृहमन्त्रीलाई बुझाइएको छ।
इमेज सहकारी बागलुङका देवकुमार नेपाली र छेला नेपाली, सानो पाइलाको तस्बिरन खातुन र अश्रफ अलि, सहारा बचत तथा ऋण सहकारी चितवन र सुप्रिमसँग सम्बन्धित सुबास केसी, इमेजका प्रबन्धक व्यवस्थपक दिपक पौडेल, शिवशिखरका लिलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघा ड्रिमका महाशंकर रेग्मीको नाम बुझाएको हो।
गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरूपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका थिए।
‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। सहकारी बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु,’ उनले भने।
समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे। बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर पनि सहभागी थिए।