राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानलाई अनुमोदन नगर्न संसदीय सुनुवाइ समितिलाई आग्रह गरेकी छन्।
यौनशोषण आरोपित प्रधानलाई आयुक्तमा अनुमोदन गर्न नहुने उनको भनाइ छ।
‘एक महिलालाई लामो समयसम्म यौन शोषण गरेको प्रधानमाथि आरोप लागेको छ। ती महिलाले संसदीय सुनुवाइ समितिमा उजुरी पनि दिएकी छन्,’ सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले भनिन्, ‘तिनको भनाइअनुसार उनले अदालतलाई पनि गुहारिन्। पछि मिलापत्र भएर पटक-पटक गरेर एक करोड २५ लाख रुपैयाँ कृष्णमान प्रधानले तिरेको उहाँसँग रसिद छ।’
प्रधानलाई संसदीय सुनुवाइ समितिबाट केही गरेर अनुमोदन गरियो भने ५१ प्रतिशत महिलाको अपमान तथा संविधानको धारा २४५ को उपधारा ६ को पनि अपमान हुने बताइन्।
‘त्यस्ता आरोपितलाई कुनै पनि हिसाबले स्थान दिनु हुँदैन,’ उनले भनिन्, ‘आयुक्त हुन उच्च नैतिक चरित्र हुनुपर्छ, यौन शोषण गर्नेको चरित्र कसरी उच्च भन्न सकिन्छ? यसमा प्रधानमन्त्री र संसदीय सुनुवाइ समितिको ध्यानाकर्षण गर्न चाहन्छु। संसदीय सुनुवाइ समितिले प्रधानलाई अनुपयुक्त ठहर गर्नुपर्छ।’
संसदीय सुनुवाइ समितिको बैठक सोमबार अपराह्न ५ बजे बस्दैछ। यो बैठकमा प्रधानलाई आयुक्त अनुमोदन गर्ने वा नगर्ने निर्णय हुनेछ।
यो पनि: निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे निर्णय गर्न बोलाइएको बैठक सर्यो