संक्रमणकालीन न्याय सम्बन्धी विधेयकको छलफल गर्न बनेको कार्यदलको बैठक सकिएको छ। सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठक २ घन्टा बसेर सकिएको हो।
बैठक फेरि विहीबार बिहान बस्नेगरी स्थगित भएको नेकपा एमालेका मुख्य सचेतक तथा संयन्त्रका सदस्य महेश बर्तौलाले जानकारी दिए।
बर्तौलाले अहिलेसम्म भएका छलफलकाे मस्यौदा तयार परेर त्यसमाथि बिहीबार छलफल गर्ने बताए।
‘मूल ऐन, विधेयक र उपसमितिकाे प्रतिवेदन हेर्ने कुरा भएकाे छ। त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने कुरा भएकाे छ। सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छाैँ,’ उनले भने।
संयन्त्रको बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल लगायतको पनि सहभागिता थियाे।
यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएकाे थियाे।