नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई उपनेता चयन गर्नुपर्ने उनले बताए।
सभापति देउवाले उपनेता किन चयन नगरेको हो भन्ने प्रश्न पनि पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाको छ।
‘उपनेता त उहाँले चयन गर्नुपर्ने हो। मलाई पनि लाग्छ– उपनेता बनाउनु पर्छ। उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि!,’ कोइरालाले संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग भने, ‘त्यसैले उपनेता हुनुपर्छ। तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला।’
उनले सिनियर नेतालाई दलको उपनेता बनाउनुपर्ने पनि बताए।
‘म त आकांक्षी होइन। तर बनाउनु हुन्छ भने त अब मैले नाइँ भन्दिनँ। उहाँले उपयुक्त व्यक्तिलाई बनाउनु पर्छ। सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)