संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये १७ जनाको शव परिवार तथा आफन्तले बुझेको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा जहाज दुर्घटनाबारे जानकारी गराउँदै उनले यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि नेपालमा दूतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको बताए।
जहाज दुर्घटनामा गम्भीर घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य उपचार भइरहेको उनको भनाइ छ।
साथै शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाईन्सले व्यहोरेको पनि उनले बताए।
साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै सौर्यको जहाज दुर्घटना भएको थियो। १७ जना नेपाली र एक विदेशीको दुर्घटनामा मृत्यु भएको थियो।
(न्युज एजेन्सी नेपाल)