नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सरेको छ।
एकीकृत समाजवादीले सोमबार (भोलि) केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।
तर तयारी अपुग भएपछि बुधबार बैठक सारिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बोलाइएको हो। असार १६ देखि २० गतेसम्म चलेको दसौं महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो।
एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन।
यसअघि सचिवालय बैठकले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरेको थियो। अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।