राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनासम्बन्धी अध्ययन गर्न गठन गरिएको छानबिन समितिमाथि प्रश्न उठाएका छन्।
यो समितिबाट निष्पक्ष रुपमा छानबिन हुनेमा उनले आशंका व्यक्त गरेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोलेका राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानबिन समितिको प्रमुख बनाइएको आरोप लगाए।
विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय समिति बनेको थियो।
तर पूर्वमहानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानबिन गर्छ भनेर विश्वास गर्न नसकिने लिङ्देनले बताए।
विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन्। उनका भिनाजुलाई अहिले यो छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आइराखेको छ। भनेपछि कुन प्रकारको छानबिन हुन्छ होला? र एउटै मान्छेलाई यस प्रकारको छानबिनको जिम्मेवारी पटक-पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ,’ उनले भने।
गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै सौर्यको जहाज दुर्घटना हुँदा १७ जना नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको थियो। घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको उपचार भइरहेको छ।
(न्युज एजेन्सी नेपाल)