कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ।
माओवादीका मन्त्रीहरूले शुक्रबार पदबाट राजीनामा दिएका हुन्।
मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
‘मुख्यमन्त्री हिक्मत कार्कीकै आग्रहमा हामी अहिलेसम्म सरकारमा रहेका हौं’, माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोले भने, ‘मुख्यमन्त्रीले प्रदेशमा सहमतिको सरकार नबन्ने भनेपछि हाम्रा मन्त्रीहरुले राजीनामा दिएका हुन्।’
प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलनमा मन्त्रीहरुसहित उपस्थित आङ्बोले लगत्तै मन्त्रीहरुले मुख्यमन्त्रीसामु राजीनामा पत्र बुझाउने बताए।
‘अहिलेको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो र त्यसलाई दिएको समर्थन फिर्ता गर्न सबै सांसद भेला हुनुपर्छ’, उनले भने ‘सरकारलाई दिएको समर्थन पनि हामी चाँडै फिर्ता लिन्छौं। प्रदेशमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं।’
एमाले संसदीय दल नेता हिक्मत कार्की नेतृत्वमा गत वैशाख २७ गते सरकार गठन भएको थियो। उक्त सरकारमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, वन वातावरण तथा पर्यटन मन्त्री नारायण मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र वन वातावरण तथा पर्यटन राज्यमन्त्री बन्दना झाँगर थिए।
चारै जना मन्त्रीहरुले अलग-अलग राजीनामा पत्र तयार पारेर मुख्यमन्त्रीलाई बुझाउने तयारी गरेका हुन्।
कोशीमा अब एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुनेछ।
कांग्रेस एमालेबीच भागबन्डाका लागि छलफल शुक्रबारदेखि काठमाडौंमा सुरू हुनेछ।