संक्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक शुक्रबार बसेको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको छ।
संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए।
बैठकपछि संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए।
‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएका छौं। यस विषयमा सोमबार सरोकारवालासँग छलफल गरौं। त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिमरूप दिने कुरा भएको छ,’ उनले भने।
यस्तै एमालेका मुख्य सचेतक बर्तौलाले पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिमरूप दिइने बताए।
‘हामी यो विषयलाई अन्तिम रुप दिँदैछौं। फाइनल गर्नको लागि केही रायहरू पनि सोमबारसम्म लिन्छौं। परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ,’ उनले भने।
पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाले बताए। अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनको भनाइ छ।