संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक शुक्रबार बस्दैछ।
बैठक अहिले बिहान ९ बजे गृह मन्त्रालयमा बस्ने कार्यदलका सदस्य तथा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘आज पनि हामी बस्दैछौं। धेरै कुरा सहमतिको नजिक छ। कस्तो भाषा प्रयोग गर्ने भनेर हामी छलफल गरिरहेका छौं। आज विस्तृत छलफल गर्ने तयारी पनि गरेका छौं,’ उनले भने।
यसअघि बसेको कार्यदलको बैठमा आ–आफ्ना दलमा छलफल गर्ने समझदारी भएको थियो।
द्वन्द्वकालीन मुद्दामा पीडितको सहमति नभए के गर्ने, पीडित सहमत नभए अदालत जाने बाटो राख्ने कि नराख्नेजस्ता विषयमा सहमति जुट्न सकेका छैनन्।
एमालेले पीडितमैत्री हुने गरी संक्रमणकालीन विषय टुंग्याउनुपर्ने बताउँदै आएको छ। गम्भीर प्रकृतिका घटनामा अदालत जान बाटो खुला राख्नुपर्ने र त्यसमा अदालतले नै विवेक पुर्याउने तर्क एमालेको छ।
गत असार १३ गते तत्कालीन लप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यदल गठन गर्ने सहमति गरेका थिए। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन्।