सुदूरपश्चिममा प्रदेश सरकारको दोस्रो कार्यकालमा चौथो पटक सरकार गठन गर्ने तयारी छ।
१५ महिनाको अवधिमा सुदूरपश्चिममा यसअघि नै तीन पटक सरकार परिवर्तन भइसकेको छ।
बेला–बेला केन्द्रमा बन्ने नयाँ समीकरणको बाछिटा प्रदेशसम्म आइपुग्दा छोटो समयमै धेरैपटक सरकार परिवर्तनको सास्ती प्रदेशले ब्यहोरिरहेको छ।
सुदूरपश्चिममा २०७४ सालमा नेकपा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए।
उनले पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए।
त्यसपछि २०७९ मा सुरूमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएपछि सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बने।
एमाले र माओवादीबीचको गठबन्धन् एक महिनामै टुटेपछि सुदूरपश्चिममा रावल नेतृत्वको सरकार ढल्यो।
त्यसपछि नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी लगायतका दलको गठबन्धनमा नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्री बने।
कांग्रेस र माओवादी लगायत दलको गठबन्धन टुटेपछि शाहपछि एकीकृत समाजवादी पार्टीका दीर्घ सोडारी मुख्यमन्त्री बने।
अहिले भएको केन्द्रमा कांग्रेस र एमालेको गठबन्धनपछि नेपाली कांग्रेसले नै सुदूरपश्चिममा मुख्यमन्त्री पाएको छ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्।
विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ। सरकार बनाउन नेपाली कांग्रेस र एमालेको बहुमत सहजै पुग्छ।