राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको बताएको छ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रेस ब्रिफिङ गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले उपसभामुखले भिषाको मिति सार्न गरेको सिफारिस अमेरिकी दूतावासमा दर्ता नभएको दाबी गरेका हुन्।
‘हामीले पत्र देख्यौं १८ महिनाअगाडिको रहेछ, १८ महिनाअगाडि नआएर अहिले किन थाती राखिएको रहेछ?,’ उनले भने, ‘अर्को कुरा हामीले बुझ्यौं, आफ्नो स्रोतबाट। अमेरिकी दूतावासमा दर्ता पनि नभएको रहेछ। सिफारिस अनुसारको सुविधा नपाएको रहेछ। पत्र पनि कतै पनि नगएको,अभियोग लगाइएअनुसार कतै पनि आर्थिक चलखेल नभएको पाइयो।’
उनले अहिले उपसभामुख रास्वपाको सदस्य नभएकाले पार्टीको दायरामा नरहेको पनि बताए।
‘उहाँ अहिले पार्टीको सदस्य पनि हुनुहुन्न। संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के छलफल हुन्छ, के निर्णय हुन्छ, त्यसको आधारमा हामी पनि सचेत भएर बसेका छौं,’ उनले भने।
उपसभामुख रानाले अमेरिकी दूतावासलाई भिसाको मिति सार्न गरेको सिफारिस बाहिर आएपछि उनी विवादमा परेकी छिन्। रास्वपाले भने आर्थिक चलखेल नभएको र सिफारिस कार्यान्वयनमा नआएको बताउँदै आएको छ।
रास्वपाले संवैधानिक परिषदमा संख्या नपुग्ने भएपछि उपसभामुखलाई विवादमा ल्याउन खोजिएको तर्क गर्दै आएको छ।